काठमाडौँ — काठमाडौंको पिङ्लास्थान नजिक सार्वजनिक बस अनियन्त्रित हुँदा ८ वटा सवारी साधनहरूमा क्षति पुगेको छ। दुर्घटनामा परेर ३ जना घाइते छन् । तीमध्ये २ जना अस्पतालमा उपपचाररत रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं ८, पिङ्लास्थाननजिक सडक खण्डमा गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस अनियन्त्रित भई अरू सवारी साधनहरूसँग टकराएपछि दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटना हुँदा काभ्रेका ३४ वर्षीय रक्तिम लामाले चलाएको बा ५ ७३१ नम्बरको माइक्रो, सिन्धुपाल्चोकका २७ वर्षीय राम तामाङले चलाएको बा प्र ०१-०२६ च ८५७६ नम्बरको कार, ५३ वर्षीय त्रिरत्न प्रजापतीले चलाएको बीएसी ९७७३ नम्बरको कार, काठमाडौंका ४१ वर्षीय प्रमप्रसाद गेलालले चलाएको बा १६ च ४४५२ नम्बरको कार, काठमाडौंका ३७ वर्षीय शैलेन्द्र राईले चलाएको प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, काठमाडौंका ३२ वर्षीय राजकुमार श्रेष्ठले चलाएको बा ५१ प २२ नम्बरको मोटरसाइकल र भक्तपुरका १९ वर्षीय स्मिता ढुङगेलले चलाएको बा प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनापछि भागेका बस चालक दोलखाका ३५ वर्षीय सुवास राना मगर भने अहिले प्रहरीको नियन्त्रणमा छन् ।
दुर्घटनामा परेर बा ५१ प २२ नम्बरको मोटरसाइकल चालक धादिङ ज्वालामुखी गाँउपालिका वडा नम्बर ०१ का ३२ वर्षीय राजकुमार श्रेष्ठ र सोही मोटरसाइकलको पछाडि बस्ने नुवाकोट टाडी गाँउपालिका वडा नम्बर ०२ का २२ वर्षीय विकास कट्टेल घाइते भएका छन् ।
प्रहरीका अनुसार प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी टुवाचुङ नगरपालिका वडा नम्बर ०५ का ३७ वर्षीय शैलेन्द्र राई भने उपचारपछि डिस्चार्ज भएका छन् । घाइते दुईको अवस्था पनि सामान्य छ । घाइतेहरूको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
