काठमाडौँ — विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) सम्बद्ध कर्मचारी संगठनले आन्दोलनको घोषणा गरेको छ । खानेपानी उत्पादन, नीतिगत सुधार, समयमै साधारणसभा गर्नुपर्ने, प्रमुख कार्यकारी अधिकृतको राजीनामा मागसहित युनियनका कर्मचारीहरु आन्दोलित भएका हुन् ।
केयूकेएल सम्बद्ध पाँच कर्मचारी ट्रेड युनियन कर्मचारी संघ , लोकतान्त्रिक कर्मचारी संघ, स्वतन्त्र कर्मचारी युनियन, कर्मचारी संघ, कर्मचारी कल्याण परिषद्ले आन्दोलन गरेका हुन् । आधिकारिक ट्रेड युनियनले २०८० जेठ २८ मा व्यवस्थापन समक्ष १८ वटा माग राखेको थिए ।
ट्रेड युनियनहरूले प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलको कार्यक्षमतामाथि समेत प्रश्न उठाएका छन् । उनीहरुले वैशाख ३१ गतेभित्र पदत्याग गर्न भन्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । केयूकेएल कर्मचारी संघका उपाध्यक्ष ओम ढकालले आफूहरुको मागमा गैरजिम्मेवार जवाफ आएकोमा असन्तुष्ट भएको बताए । भने, ‘२०८१ जेठ महिनामा व्यवस्थापन पक्ष र ट्रेड युनियनका प्रतिनिधिबीच सहमति भएको थियो । तर सहमति पालना भएन ।’
कर्मचारी संघको अध्यक्ष नवल सिंह साउदले पटक-पटक गुनासो सुनाउँदासमेत सम्बन्धित निकायले ध्यान नदिएको बताए । उनले २०७८ सालदेखि कम्पनीको साधारणसभा समेत हुन नसकेको बताए ।
अभिषेक अधिकारी (प्रशिक्षार्थी)
