किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Three people were arrested for making forged documents

काठमाडौँ — नेपाल प्रहरीले किर्ते गरी नक्कली कागजात बनाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।

काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र शैक्षिक प्रमाणपत्रलगायतका कागजात किर्ते गरी नक्कली बनाउने सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–२, देवीचोक बस्ने ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुंगा घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर घर भई चन्द्रागिरि नगरपालिका–१, दहचोक बस्ने २३ वर्षीया अञ्जु खत्री रहेका छन्।

अनुसन्धान अनुसार बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहका सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा र सवारी चालक अनुमति पत्रलगायतका कागजातहरू किर्ते गरी नक्कली बनाई प्रयोग गर्दै आएकी थिइन्। उनले नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलबमा राखी कार्य सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूले डिपेन्डेन्ट भिसा, विवाह प्रमाणपत्रदेखि बैंकबाट ऋण लिने प्रयोजनका लागि नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको खुलेको छ। त्यसै गरी, विद्यार्थी भिसामा जापान जान चाहनेका लागि सहकारी संस्थाका नक्कली स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने गरेको पनि फेला परेको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका होलो ग्रामसमेत उपलब्ध गराउने, जापानलगायतका देशहरूमा कामदार भिसाका लागि विभिन्न तहका शैक्षिक प्रमाणपत्र तथा अनुभवका कागजात बनाइदिने गरेको अनुसन्धानबाट खुलेको हो। साथै, विदेशमा बस्ने नेपाली नागरिकहरूका लागि पीआर तथा ग्रीनकार्ड आवेदन प्रयोजनमा मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल, वीर अस्पताल आदिका नक्कली मेडिकल कार्ड बनाउने गरेको समेत फेला परेको छ।

भिजिट भिसाका लागि ‘क’ वर्गका सबै बैंकका नक्कली स्टेटमेन्ट बनाइदिने काममा पनि उनीहरूको संलग्नता रहेको खुलेको छ।

पक्राउ परेकाहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी दर्ता प्रमाणपत्र, विभिन्न सहकारी संस्थाका लेटरप्याड, बैंक तथा सहकारीका स्टेटमेन्ट पाना, स्थानीय तहका सिफारिस पत्रहरू बरामद गरिएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको कार्यालयले जनाएको छ।

कान्तिपुर

Link copied successfully