उपत्यकामा वैशाखमा ३२ आगलागी घटना, एकको मृत्यु, १० घाइते, ५ घरमा क्षति

जेष्ठ १, २०८२

विवेक पोख्रेल

32 fire incidents in Baisakh in the valley, one dead, 10 injured, 5 houses damaged

भरतपुर — काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित महादेव चोकमा बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भयो । चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास चुहिएर आगलागी हुँदा चौथो तलामा रहेकी ८० वर्षीया विष्णुमाया अधिकारीको मृत्यु भएको हो । सँगै तीन जना घाइतेका थिए । 

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो सल्कँदा माथिल्लो तला पूर्णरुपमा क्षति पुग्यो । त्यसको भोलिपल्ट बिहीबार काठमाडौँको चन्द्रागिरि नगरपालिका–११, सतुंगलमा रहेको दुई तले व्यावसायिक भवनमा आगलागी भयो । २०७२ सालको भूकम्पले पुरानो घर भत्किएपछि राजकुमार सिंह महर्जन र उनकी पत्नी गुनुमाया महर्जनले व्यावसायिक उद्देश्यले सोही ठाउँमा आरआर कम्प्लेक्स नाम दिइएर जस्तापाता र फलामको डन्डीबाट दुई तले घर बनाएका थिए । 

प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले कम्प्लेक्सको भुइँतलामा रहेको कल्पना बुटिकबाट विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताए । उनका अनुसार कम्प्लेक्ससँगै रहेको कल्पना महर्जनको दुई तले घरमा समेत आगो सल्किएको थियो । जसबाट ज्ञानमतिदेवी गुप्ताको मिठाई पसलसमेत जलेको थियो । दुवै घटनाको क्षतिको विवरण संकलनको काम प्रहरीले गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखमा एसएसपी विश्व अधिकारीका अनुसार काठमाडौँमा बिजुली सर्ट भएर, ग्यास चुहिएर, ट्रान्सफर्मर वा बिजुलीको पोलमा आगलागीको घटना धेरै हुने गरेको छ । प्रहरी तथ्यांकअनुसार उपत्यकामा मात्र वैशाख महिनामा मात्र ३२ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट १ जनाको मृत्यु र १० जना घाइते भएका छन् । आगलागीबाट ५ घरमा क्षति पुगेको छ । यही समयमा देशभरि ६१५ आगलागीका घटना भएका थिए । १० जनाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए । आगलागीबाट पशुचौपाया, गोठ, विद्यालय, सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख छ ।

काठमाडौँमा भने बस्ती र साँघुरो बाटोले गर्दा गल्लीभित्र हुने आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीको अनुभव छ । ‘हामीसँग प्रविधिको अभाव पनि छ, आगो नियन्त्रणमा खट्ने जनशक्तिसँग सुरक्षा उपकरण,’ प्रहरी प्रमुख अधिकारीले भने,‘दमकल नजाने ठाउँमा आगलागी हुँदा थप समस्या छ । ’

काठमाडौं महानगरपालिकाले सहरका १३ ठाउँमा गल्लीभित्र आगलागी भएको स्थानमा दमकलको पानी पुर्‍याउन फायर डायवर्टर प्रयोग गरिएको बताएको छ । काठमाडौं महानगर नगरप्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार अहिले फायर डायवर्टरको निरीक्षण र परीक्षण गर्ने काम हुँदैछ । महानगरपालिकाले जनप्रतिनिधि र प्राविधिकले जोखिमको मूल्यांकन गरेर फायर डायवर्टर राखेको बताएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully