काठमाडौँ — स्थानीय संस्कृति र सम्पदालाई सिर्जनात्मक अभिव्यक्तिमार्फत उजागर गर्दै समाजमा सकारात्मकता फैलाउने उद्देश्यले सुरु गरिएको 'जेसुम यात्रा' अभियानको पछिल्लो श्रृंखला भक्तपुरको ऐतिहासिक नगर मध्यपुर थिमीमा सम्पन्न भएको छ। सात वर्षअघि स्वतन्त्र स्रष्टाहरूको समूहले सुरु गरेको यो अभियान चित्र, साहित्य र अभिनयमार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै अगाडि बढिरहेको छ।
सोमबार बिहान ८ बजे मध्यपुर थिमीस्थित शंखधर साख्वा चोकमा भेला भएका साहित्यकार, पत्रकार, चित्रकार र संस्कृतिप्रेमीहरूको समूहले थिमीका प्रमुख सम्पदाहरुको अवलोकन गरे। उनीहरूले मल्कालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो, नगदेशको तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, बोडेको पलेस्वाँ पुखू (कमल पोखरी), पाँचो गणेशलगायतका सम्पदास्थल पुगेर इतिहास र संस्कृति आत्मसात् गरे।
थिमीका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सम्पदाको इतिहास, जात्राको परम्परा र संस्कृतिको महत्त्वबारे स्रष्टाहरुलाई जानकारी दिँदै पथप्रदर्शकको भूमिका निभाए। कुमारी मन्दिर पार्कमा पुगेर चित्रकारहरूले थिमीको सांस्कृतिक दृश्यलाई क्यानभासमा उतारे भने साहित्यकारहरूले कविता कोरे।
जेसुम यात्राकी परिकल्पनाकार एवं संयोजक कवि तथा बुढानिलकण्ठ नगरपालिकाकी उप–मेयर अनिता लामाले भनिन्, “थिमीको भित्री स्वरूप हेर्दा लाग्छ, कुनै ऐतिहासिक कालखण्डमा पाइला टेकेको छु।” लामाले बौद्ध र नेवार सभ्यताको समिश्रणमा कविता लेखिन्। उनले जेसुम यात्रालाई सामाजिक उत्तरदायित्वको रूपमा लिएकी बताइन्।
प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा जेसुम यात्राका संस्थापक बालकृष्ण बस्नेतले पनि थिमीको सम्पदाबाट प्रभावित कविता लेखे। उनलाई पछ्याउँदै स्नेह सायमी, रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ, बुद्धिकृष्ण वागाः श्रेष्ठलगायतले आफ्ना सिर्जना वाचन गरे।
चित्रकार चन्द्रा श्रेष्ठले मन्दिरलाई पृष्ठभूमिमा राखेर चित्र कोरे भने दिपेन्द्रमान बनेपालीले कवि स्नेह सायमीको ‘चश्मा र आँखा’ कवितालाई दृश्यात्मक रूपमा उतारे। मिथिला चित्रकार सरितादेवी मण्डलले थिमीको जनजीवन र कृषि परम्परालाई मिथिला शैलीमा चित्रित गरिन्।
पूर्व मेयर मदन सुन्दर श्रेष्ठले भने, “जेसुम यात्राको बारेमा धेरैपटक सुनेको थिएँ, आज साक्षात् सहभागी हुन पाएँ। यो अभियान साँच्चै प्रेरणादायी छ। हामी आजका सबै सिर्जनाहरूलाई समेटेर पुस्तक निकाल्ने तयारीमा छौं।”
जेसुम यात्राका संस्थापक बस्नेतका अनुसार यो अभियान काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट सुरु भएर नगरकोट, धनकुटा, बुढानीलकण्ठ, चन्द्रागिरी, अनन्त लिंगेश्वर हुँदै थिमी आइपुगेको हो। उनले भने, “सांस्कृतिक पुनर्जागरण र सकारात्मकताको सन्देश बोकेको यो अभियान नेपाली राष्ट्रिय संस्कृति निर्माणतर्फको महत्त्वपूर्ण पाइला हो।”
यात्रामा लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, सुन्दर शिल्पकार, रामदत्त मिश्र, डम्बर मिश्र, संगीतकार अशोक राई, वसन्त मुकारुङलगायतका स्रष्टाहरू सहभागी थिए।
