काठमाडौँ — उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तीकरणका विषयमा नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसको संयुक्त आयोजनामा 'नीति तथा बजेट संवाद कार्यक्रम' सम्पन्न भएको छ ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उद्यमशीलताका बहुआयामिक सवालमा गहन संवाद तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले नेपालमा अथाह सम्भावना भएको जलविद्युत्, कृषि लगायतका क्षेत्रलाई महत्त्व दिँदै सरकारले लगानी बढाउनुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले अर्थतन्त्रमा दोस्रो तहको सुधार भएमात्र देश समृद्ध हुन सक्ने बताए । सार्वजनिक महत्त्वका पूर्वाधार निर्माण र मर्मतमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले युवा पुस्ताले आफ्नै देशमा सम्भावना खोज्ने प्रयास गर्नुपर्ने बताए । त्यसका लागि नीति निर्माण तहमा बसेकाले समेत वातावरण निर्माण गर्नुपर्ने र शिक्षालाई व्यवसायमुखी बनाइनुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटीले उद्यमशीलता बारेको छलफलका क्रममा उठेका विषयवस्तुलाई नेतृत्व तहसम्म पुर्याइने बताए ।
योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले नेपालको कानुन उद्योगमैत्री भएपनि कार्यान्वयन पक्ष कमजोर भएको भन्दै समग्र देशलाई नै माथि उठाउने किसिमको सशक्त योजनाको खाँचो औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मनोज पौडेलले आर्थिक सुशासन र सार्वजनिक निकायप्रति आम मानिसको विश्वास नभएसम्म सफल हुन नसकिने बताए । प्रत्येक गाउँ र पालिकामा गएर उद्यमशीलता प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रञ्जित आचार्यले स्टार्टअपका लागि कर्जा प्रवाह गरेर मात्रै राज्यको दायित्त्व नसकिने भन्दै यस क्षेत्रमा हात समातेर नै डोहोर्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक विकास प्रतिष्ठानका इन्जिनियर उमेश गुप्ताले सरकारले उपलब्ध गराउने स्टार्टअप कर्जाबारे जानकारी दिएका थिए ।
उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफलमार्फत साझा धारणा बनाउने उद्देश्यले छलफलको आयोजना गरिएको बताए ।
उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुलाई निरन्तर रुपमा उठान गरिरहने र आगामी दिनमा सरोकारवाला पक्षसँग छलफल जारी राख्ने बताए ।
कार्यक्रममा नवउद्यम क्षेत्रका विज्ञ कविराज जोशी, ट्याक्स एड्भोकेट प्रतिष्ठा भण्डारी, आकाश सुवेदी, लगायतले धारणा राखेका थिए । कार्यक्रममा उद्यमशीलता क्षेत्रमा कार्यरत जेनजी पुस्तादेखि नीति निर्मातासम्मको उपस्थिति थियो ।
