काठमाडौँ — राष्ट्रिय सूचना आयोगद्वारा स्थापित ‘विनय कसजू उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार’ पत्रकारत्रय तारानाथ दाहाल, दीपक रिजाल र गजेन्द्र बुढाथोकीसहित ५ जनालाई प्रदान गरिएको छ ।
राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारत्रय दाहाल, रिजाल र बुढाथोकीसहितलाई सोमबार सूचनाको हक अभियन्ता पुरस्कार प्रदान गरेका हुन् । कसजू आयोगका संस्थापक प्रमुख आयुक्त हुन् । उनकै नाममा आयोगले पुरस्कार स्थापना गरेको थियो ।
पुरस्कृतमध्ये रिजाल र बुढाथोकी तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । हाल रिजाल नेपाल समाचार पत्र र बुढाथोकी अर्थ–राजनीति केन्द्रीत टक्सार म्यागेजिनमा आबद्ध छन् । विगतमा पत्रकारितामा सक्रिय दाहाल हाल फ्रिडम फोरममा आबद्ध छन् ।
यसैगरी कविता थापा र हरिराम कोण्डा पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् । दाहालले सर्वोत्कृष्ट सूचना अभियन्ता र अरु चारजनाले उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाएका हुन् । सरकारी/सार्वजनिक निकायका सूचना सहजै नागरिकसम्म पुर्याउन योगदान गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी देवीप्रसाद थपलिया, मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाल, जिल्ला हुलाक कार्यालय चितवनका सूचना अधिकारी पदमकुमार श्रेष्ठ र छत्रदेव गाउँपालिकाका, अर्घाखाँचीका सूचना अधिकारी बुद्धिराम न्यौपानेलाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार प्रदान गरिएको छ ।
सूचना आयोगले दुवै पत्रकारलाई नागरिकको सूचित हुने अधिकार, सूचनाको हकको संरक्षण र सम्वर्द्धन गर्न पत्रकारिता मार्फत उत्कृष्ट योगदान पुर्याएकोमा यो वर्षको पुरस्कार प्रदान गरिएको जनाएको छ । स्थापना दिवसका अवसरमा आयोगले सन्तोषकुमार दाहाल, सुदर्द्धन ढकाल, दिनेश लुइँटेल र रञ्जनाकुमारी दाहाललाई उत्कृष्ट कर्मचारी र सीताराम बस्नेत र माइली तामाङलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
