अपराध अनुसन्धानको दायरालाई नयाँ किसिमले अघि बढाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

वैशाख २१, २०८२

न्युज एजेन्सी नेपाल

Home Minister's instructions to the police to carry out the scope of crime investigation in a new way

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरु थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा विस्तार गर्न प्रहरीलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाएर शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए । 

२५/३० वर्ष पहिलाकोभन्दा अहिले धेरै राम्रो भए पनि पछिल्ला समयमा आएका अपराधका नयाँ आयाम अनुसार नै प्रहरीले पनि अनुसन्धानलाई नयाँ ढंगले अघि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो । 

अनुसन्धानमा नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउन प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन थियो । उनले भने, ‘आजभन्दा २५/३० वर्ष पहिला म वकालत पनि गर्दथेँ । वकालतका क्रममा मैले अपराधिक मुद्दाहरुमा पनि धेरैमा aहस पैरवी गरेको छु । त्यो बेलाको अनुसन्धान र आजको अनुसन्धानमा मैले धेरै फरक पाएको छु । राम्रो भएको छ । त्यो बेलामा प्रहरीको अनुसन्धानमा धेरै ल्याप्सेसहरु हुने, अनुसन्धानमा मात्रै होइन, प्रसिक्युसनमा पनि तमाम ल्याप्सेसहरु हुने अनि कहिले कहिँ के हुने भने डिफेन्स लयर्सका लागि त्यो अनुसन्धान त प्याराडाइज अफ लयर्स हो नि । अनुमान र आशंकाको आधारमा गरिने अनुमानजन्य विषयहरु घटेका छन् । प्रमाणिकता, वैज्ञानिकता, प्रमाणको ठोस मूल्यांकनका  कुराहरुमा परिवर्तन भएको मैले देखेको छु । कमी कमजोरी हुन्छन्, त्यसलाई सच्याउँदै ठीक गर्दै जाने हो । तर अझ राम्रो गर्नुछ, यत्तिले पुगेन । यत्तिले पुगेको छैन । किनभने नयाँनयाँ कुराहरु आइरहेका छन् । नयाँ विषयहरु प्रवेश गरिरहेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, अपराधको अनुसन्धान गरेर अगाडि बढ्ने सवाल वा प्रहरी ल इम्प्लिमेन्टेसनको महत्त्वपूर्ण एजेन्सी भएको कारणले कानुन प्रचलनको सवाल होस्, नयाँ चुनौति, जोखिम र विषयले होस्, तदनुकुल तयार गर्नुछ आफूलाई ।’

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताए । समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भए पनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपाल

Link copied successfully