पाटन (ललितपुर) — काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक हित र चासोका विषयमा सहकार्य गर्ने समझदारी भएको छ ।
धुलिखेलस्थित केयु र हेगस्थित एनपीआईले सोमबार ललितपुरको बालकुमारीस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा दिनेश काफ्लेले दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको जानकारी दिए । सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने र एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उनले बताए ।
सम्झदारीपत्र हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले उक्त सहकार्यले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव र कार्यसम्पादन आदानप्रदानको अवसर सृजना गर्ने विश्वास व्यक्त गरे ।
'दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तरराष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति विश्वविद्यालयको छ,' उपकुलपति वाग्लेले भने, 'एनपीआईको प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा छोटो वा लामो अवधिमा योगदान पुर्याउन सक्छ ।'
कार्यक्रममा एनपीआई सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा थिङ्क ट्याङ्क प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे । उनले सहकार्यले विश्वविद्यालय र संस्थाले अलगअलग गर्दै आएका कार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
'विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर विशेषज्ञता प्रदर्शन गर्न मद्दत पुर्याउनेछ, जसले देशलाई फाइदा पुर्याउनेछ,' उनले भने । ढकालले सार्वजनिक क्षेत्र, विश्वविद्यालय र थिङ्क ट्याङ्कबीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकता पनि औँल्याए ।
डा काफ्लेले काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको जानकारी दिए । उनका अनुसार विश्वविद्यालयका केन्द्रीय तथा आङ्गिक क्याम्पसहरूमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।
