काठमाडौँ — अन्न र वृष्टिका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण आज साँझ पुल्चोकमा हुँदैछ । रथारोहणका लागि आइतबार मातातीर्थ औँसीको दिन मत्स्येन्द्रनाथका पुजारीहरू ललितपुरको देवीचौरस्थित कटुवाल दहमा देवता ल्याउन रात बस्न गएका थिए ।
आज बिहान पूजा गरेर कटुवाल दहबाट देवता ल्याउने चलन छ ।
रथजात्राका लागि त्रयोदशी भुवनका प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको आधारमा बत्तीस हात लामो रथ बेत र काठ मात्र प्रयोग गरेर पुल्चोकमा तयार पारिएको छ ।
गुठी संस्थान ललितपुर शाखाका प्रमुख जितेन्द्र चित्रकारले करिब ३ बजेतिर मत्स्येन्द्रबहालस्थित मन्दिरबाट मत्स्येन्द्रनाथलाई बाजासहित पुल्चोक पुर्याइने जानकारी दिए ।
मत्स्येन्द्रनाथको रथ बनाउन छुट्याइएको ७५ लाख रुपैयाँ अपुग भएकाले थप १५ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको उनले बताए ।
जात्रामा ललितपुरका सत्रौँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाएर राजकीय सम्मानका साथ लगाइन्छ ।
मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाई भक्तपुर दरबारबाट छत्रले ओढाई (म्वाली-सहनाइ) र नायक्खी बाजा बजाउँदै मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोत: पूजा गर्ने चलन छ ।
