काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदाको विषयमा राजनीति गर्न नहुने धारणा राखेकी छन्। शुक्रबार आयोजित अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले सम्पदा क्षेत्रमा जियोपोलिटिक्स नभइ, नेपाली नै सहभागी हुनुपर्ने बताइन्।
उनले भनिन्, 'सम्पदा निर्माणमा लगानी महानगरको होस् वा सरकारको होस् यो चाहीँ हामीले आफैंले बनाउनुपर्छ । यसमा हरेक लगानी हाम्रै हुनुपर्छ।'
उपप्रमुख डंगोलले थपिन्, 'भोलि समय बितेपछि भूकम्पपछिको पुनर्निर्माण कसले के गरे भन्ने प्रश्न आउँछ। त्यस्तोमा सम्पदा क्षेत्रमा जियोपोलिटिक्स होइन, नेपालीहरूको प्रत्यक्ष सहभागिता देखिनुपर्छ। यस्तो क्षेत्रमा हामी गर्व गर्न सकौँ, ‘यो त नेपालीले बनाएको हो’ भन्ने प्रमाण दिइने काम हुनुपर्छ भन्ने सोचमा हामी छौँ।'
उनले सस्तो ठेक्कामार्फत सम्पदा पुनर्निर्माण गरिँदा संरक्षणमा समस्या उत्पन्न भइरहेको उल्लेख गरिन्। 'सस्तो टेन्डरको कारणले सम्पदा संरक्षणमा कठिनाइ आइरहेको छ,' उनले भनिन्।
