काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषले ‘अन्तर्राष्ट्रिय हिउँचितुवा गोष्ठी’ गर्ने भएको छ । कोषले वैशाख १२ देखि काठमाडौंमा तीन दिने अन्तर्राष्ट्रिय हिउँचितुवा सम्मेलन गर्ने भएको हो ।
कोषका निर्देशक डा.चिरञ्जीवीप्रसाद पोखरेलले हिउँचितुवा पाइने १२ देशका वैज्ञानिकहरूले गरिरहेको कामबारे जानकारी दिन उक्त गोष्ठी आयोजना गर्न लागेको बताए ।
‘हिउँचितुवा के भइरहेको छ ? यसबारे सुचना दिन गोष्ठी गर्दैछौं,’ उनले भने, ‘साथै वैज्ञानिकहरूलाई एक ठाउँमा ल्याएर उनीहरूले गरिरहेका अनुसन्धानका कुराहरू एक अर्कामा साझा गर्ने गोष्ठीको उद्देश्य छ ।’ त्यत्तिमात्र नभई गोष्ठीले हिउँचितुवा सरंक्षणका चुनौती र चुनौती समाधाका लागि भएका वैज्ञानिक प्रयासबारे ज्ञान साझा गर्ने अवसर प्रदान गर्ने उनले बताए ।
हालै मात्र नेपाल सरकारले नेपालमा भएको हिउँचितुवाबारे ‘स्टाटस अफ स्नो लियोपार्ड पपुलेसन इन नेपाल २०२५’ सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ पुगेको छ । गोष्ठीमा नेपालले हिउँचितुवामाथि गरिरहेको अध्ययन पनि जानकारी गराइने कोषका निर्देशक पोखरेलले बताए ।
