काठमाडौँ — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । महानगरले २०८२ वैशाख ७ गतेसम्म उक्त रकम बराबर राजश्व संकलन गरेको जानकारी दिएको हो ।
महानगरका राजश्व विभागका प्रमुख दिपक अधिकारीले घर बहाल, सम्पत्ति कर, न्यायिक दस्तुर, पर्यटन शुल्कलगायत शीर्षकमा राजश्व संकलन गरेको बताए । महानगरले २०८१ को साउनदेखि २०८२ को वैशाख ७ सम्म २ अर्ब ११ करोड ६५ लाख ८४ हजार रुपैयाँ घरबहाल कर संकलन गरेको छ । यसैगरी सम्पत्ति करमा ९४ करोड ७५ लाख २६ हजार राजश्व संकलन भएको उनले बताए ।
‘व्यवसाय कर टोली नियमित परिचालन गरेका छौं । १ लाख रुपैयाँभन्दा कर तिर्दै आउनुभएका करदातालाई पत्र पठाएर कर तिर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर गएको वर्ष राजस्व कार्यालयमा घरबहाल कर तिरेका करदाताको विवरण महानगरपालिकाको विवरणमा समेटेका छौं ।’
यसैगरी महानगरले न्यायिक दस्तुरमा ८४ हजार, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार, भूमिकर/मालपोत करमा १ लाख ९० हजार, सिफारिस दस्तुरमा ७१ लाख २८ हजार, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
महानगरले घर बहाल, सम्पत्ति करलगायत शीर्षकमा राजश्व वृद्धि गरेपनि नक्सा पास दस्तुर भने कम हुन थालेको जनाएको छ । सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । उक्त शीर्षकमा गत वर्ष ४९ करोड ८२ लाख १० हजार राजश्व संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार रुपैयाँ संकलन भएको उनले बताए ।
