काठमाडौँ — नयाँ वर्षदेखि जावलाखेलस्थित सदर चिडियाखाना सन्ध्याकालीन रूपमा सञ्चालनमा आइसकेपछि दैनिक सय जना अवलोकनकर्ता बढेका छन् ।
चिडियाखानाका प्रमुख सत्यनारायण शाहले वैशाख १ देखि ८ गतेसम्म दैनिक सय जनाले चिडियाखानाको अवलोकन गरेको जानकारी दिए । उनका अनुसार अन्य समय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने चिडियाखाना अहिले दुई घन्टा बढाइएर ७ बजेसम्म पुर्याइएको छ ।
‘विस्तारै पूर्वाधार तयार गर्दै चिडियाखानालाई ८ बजेसम्म सञ्चालन गर्नेछौं,’ उनले भने, ‘अहिले मान्छेलाई ५ बजेसम्म खुल्छ भन्ने थाह छ । यसको प्रचारप्रसार बढ्दै गएपछि चिडियाखाना घुम्नेको संख्या बढ्छ ।’
चिडियाखानामा विशेषगरी अहिले काठमाडौं, ललितपुरका स्थानीय, ५ बजेपछि अफिस सकिएका कर्मचारी र युवायुवतीहरू फोटो खिच्न तथा घुम्न आउने गरेको उनले बताए । गत चैत २८ मा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चिडियाखानामा बस्नका लागि बनाइएको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गरेका थिए । यसले चिडियाखानामा घुम्न आउनेलाई सहज बनाउने शाहको भनाइ छ । ‘यहाँ पार्किङ र ट्राफिकको समस्या छैन,’ उनी भन्छन्, ‘त्यसैले मज्जाले घुम्न सकिन्छ ।’
चिडियाखाना घुम्न आउनेका लागि निःशुल्क पानीको व्यवस्था, बस्नलाई चौर र साथी तथा परिवारसँग खाजा खानका लागि समेत स्थान भएको उनले जानकारी दिए । यति मात्र नभई चिडियाखानामा दुई वटा गैंडासमेत थप्ने तयारी भइरहेको उनले बताए । ‘हामीसँग करिब १४ सय वटा चराचुरुंगी र स्तनधारी जीवजन्तु छन्,’ उनले थपे ।
चिडियाखाना अवलोकन गर्दा बालबालिकालाई ७५, ज्येष्ठ नागरिकलाई एक सय, विद्यार्थीलाई १३५ र वयस्कलाई २ सय रुपैयाँ शुल्क लाग्ने गरेको शाहले जानकारी दिए । ‘चिडियाखानालाई सन्ध्याकालिन रूपमा सञ्चालन गर्न कर्मचारी नै खटिएका छौं,’ उनी भन्छन्, ‘सुरक्षाको ग्यारेन्टी पनि दिएका छौं । व्यवस्थापनमा कुनै त्रुटि हुन दिएका छैनौं ।’
