काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–१० घर भइ काठमाडौं महानगरपालिका–३१ बस्ने उरूषा क्षेत्री, नुवाकोट विदुर नगरपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–३२ बस्ने केदार ढुंगाना र दाङ तुल्सीपुर उपमहानगरपालिका–६ घर भएका पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये उरूषाले क्यानडा, केदारले माल्दिभ्स पठादिन्छु भन्दै पीडितहरूबाट ८/८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
