काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट वर्ल्ड इकानोमिक फोरम २०२५ का लागि विश्वव्यापी युवा नेता चयन भएकी छन्। डंगोललाई युवालाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने युवा राजनीतिज्ञको रूपमा छनोट गरिएको हो।
‘विश्वस्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ,’ छनोट भएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरूसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित गर्ने काम गरिनेछ।’
दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि मध्ये डंगोल नेपालबाट छानिएकी हुन्। डंगोल यसअघि वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल सेपर्स काठमाडौँ हबको सदस्य थिइन्। विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन्। उक्त समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन्।
