काठमाडौँ — कलंकीमा सञ्चालित नेपाल नेसनल हस्पिटलले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौं महानगरपालिकालाई १ लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
अनुगमन गर्दा अस्पतालले फोहोरलाई व्यवस्थित नगरेको र सुधारका लागि मौका दिँदा पनि महानगरले जरिवाना तिराएको जनाएको छ ।
अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि महानगरले चैत २० मा अनुगमन गरेको थियो । त्यसपछि जरिवाना पत्र पठाएको थियो । त्यसपछि अस्पतालले चैत २९ मा जरिवाना तिरेको महानगरले जानकारी दिएको छ ।
महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ए्ने २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना अस्पताललाई जरिवाना गरिएको हो । यस दफाबमोजिम रसायनिक, औद्योगिक, स्वास्थ्य संस्थाजन्य, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ ।
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।
