काठमाडौँ — काठमाडौं महानगरले सञ्चालन गरेको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य शिविरबाट ६१३ जना महिलाले सेवा लिएका छन् ।
चैत १२ देखि २५ सम्म सञ्चालन गरिएको उक्त सेवामा ८४६ जना महिलाले पाठेघरको मुख र स्तन क्यान्सर परीक्षणका लागि नाम दर्ता गराएका थिए । जसमध्ये ६१३ जना महिलाले उक्त रोगको परीक्षण गराइसकेको महानगरले जानकारी दिएको छ ।
परीक्षण गराएकामध्ये ४८ जनामा एचपिभी डीएनए पोजेटिभ देखिएको महानगरले जानकारी दिएको छ । महानगरले वीर अस्पतालसँगको सहकार्यमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
यसैगरी परीक्षण गराएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ । वंशाणुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि बल्ल सम्पर्कमा आएका र यस वर्षको प्रारम्भिक परीक्षणका क्रममा थप जाँच गर्नु पर्ने देखिएका महिलाको स्तनको मेमोग्राम गरिएको हो । परीक्षण गराएकामध्ये २२ जनामा स्त्री तथा प्रसुतिसँग सम्बन्धित समस्या देखिएको छ ।
प्रारम्भिक उपचार २०८२ वैशाख १२ सम्म सञ्चालन हुनेछ । गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका ३० देखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका र प्रारम्भिक उपचारको लक्षित समूहका लागि उक्त शिविर सञ्चालन गरिएको थियो । यो शिविर महानगरपालिकाको दोस्रो संस्करण हो । पहिलो संस्करण वडाभर २०८१ को वैशाख ३ मा सञ्चालन गरिएको महानगरले जनाएको छ ।
