कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन महानगरबाट ४२ करोड खर्च स्वीकृत

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

42 crore expenditure approved by the metropolis to pay salaries to employees and public representatives

काठमाडौँ — काठमाडौं महानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई तीन महिनादेखि रोकिएको तलब दिन करिब ४२ करोड रुपैयाँ खर्च स्वीकृत गरेको छ । महिनौंदेखि रोकिएको तलब दिन सोमबार (चैत २५) मात्रै करिब १४ करोड रुपैयाँ बैंकमा पठाइएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

‘चैत महिनासम्मको गरेर तलब दिन करिब ४२ करोड रुपैयाँ खर्च स्वीकृत भएको छ,’ उनले भने, ‘मेयर साप जनप्रतिनिधि लगायत सबैको तलब जान्छ । महिनामा एक चोटी मात्र हुने काम अब चार पटक गर्नुपर्ने अवस्था आएको छ ।’ 

उनका अनुसार सोमबार नै धेरै कर्मचारीको खातामा तलब पठाइसकेको छ । महानगरमा स्थायी, करार र दैनिक ज्यालादारी गरेर २,३६८ जना कर्मचारी र १८ सय जना शिक्षक छन् । खर्च पनि स्वीकृत भएकाले बुधबारसम्म सबैले तलब बुझ्ने उनले बताए । ‘हाम्रो सिस्टमले काम गरिसकेको छ,’ उनले भने, ‘बुधबारसम्म सबै कर्मचारी र जनप्रतिनिधिको रोकिएको भत्ता पनि पाउनुहुन्छ ।’

पुष ८ देखि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कर्मचारी र जनप्रतिनिधिले महिनादेखिको तलब पाउन सकेका थिएनन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा भएसँगै कर्मचारीको तलब र आर्थिक कारोबार रोकिएको थियो ।

गुरागाईं चैत २१ गते महानगरमा हाजिर भएसँगै सबैभन्दा पहिला कर्मचारीको तलब दिने निर्णय गरेका हुन् । गुरागाईंमाथि काठमाडौं टावरको नक्सा प्रक्रिया नै पूरा नगरी स्वीकृत गरिदिएको भनी आरोप लागेको थियो । आरोपपछि उनी बिदामा थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully