काठमाडौँ — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचनाको हकसम्बन्धी निर्देशिका र कार्यविधिहरूमा संशोधन आवश्यक रहेको बताएका छन्। उनले त्यसकालागि आयोगले समिति गठन गर्ने र संशोधनको गृहकार्य गर्ने बताए।
'सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार आवश्यक देखिएको छ। त्यसकालागि सुझाव तय गर्न समिति गठन गर्ने तयारी गरेका छौँ,' उनले भने।
सोमबार आयोजित पत्रकार सम्मलेनमा प्रमुख आयुक्त आचार्यले आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए।
आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम गर्दै आएको छ। जसमा पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको प्रमुख आयुक्त आचार्यले बताए।
उनका अनुसार प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको छ। उनकाअनुसार आयोगले १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने निर्णय गरेको छ।
