अनुगमनपछि उपप्रमुख डंगोलले भनिन्- ‘सुरक्षा र सौन्दर्य कमलपोखरीको पर्याय हुनुपर्छ’

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

After the inspection, Deputy Chief Dangol said - 'Safety and beauty should be synonymous with lotus ponds'.

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कमलपोखरी पुनर्निर्माणको अनुगमन गरेकी छन् । अनुगमनको क्रममा उपप्रमुख सुनिताले कमलपोखरीलाई रातमा उज्यालो बनाउन, बर्खाको पानी पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन निर्देशन दिएकी छन् ।

कमलपोखरी पुनर्निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेको कामको अनुगमन गर्दै उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई उक्त निर्देशन दिएकी हुन् ।

अनुगमनको क्रममा उपप्रमुख डंगोलले पोखरी वरिपरि राखिएका चैत्य, विभिन्न स्थानमा राखिएका मूर्तिमा आगन्तुकले क्षति गरेको देखिएको र यसलाई सीसीटीभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्नुपर्ने बताइन् ।

कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परम्परागत, सांस्कृतिक र पर्यटकीय पोखरीका रुपमा विकास गर्ने गुरुयोजना अनुरुप कमलपोखरी पुनःनिर्माण भइरहेको महानगरले जानकारी दिएको छ ।

गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएको हो । दोस्रो चरणमा पोखरीको सौर्न्दयीकरण र मर्मतको काम भइरहेको महानगरले जानकारी दिएको छ ।

३ करोड ६ लाख ८ हजार ११ रुपैयाँमा ठेक्का कम्पनीसँग सम्झौता भएर काम अगाडि बढिरहेको छ । २०८१ भदौं १९ मा कार्यादेश दिइएको उक्त योजना २०८२ साउन १५ भित्रसम्पन्न गरिसक्नपर्ने छ ।

कान्तिपुर

Link copied successfully