काठमाडौँ — खड्का गाउँमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको घटनामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।
दुई समूहबीच भएको ग्याङफाइटमा दोलखाका २३ वर्षीय अभय भनिने अबे तामाङको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपनिरीक्षक अपिलराज बोहोराले उक्त प्रकरणमा अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
सोमबार काठमाडौं महानगरपालिका–१४, खड्कागाउँको सडक खण्डमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा तामाङको मृत्यु भएको थियो ।
बोहोराका अनुसार पक्राउ पर्नेहरुमा मुख्य नाईके भनिने पर्साका २१ वर्षीय आशिष श्रेष्ठ सहित सिन्धुलीका डेनियल विश्वकर्मा, सर्लाहीका निश्चल ब्लोन तामाङ, सुनसरीका सुशान श्रेष्ठ र प्रवेश गुरुङ रहेका छन् ।
यस्तै धादिङका सुजन तामाङ, विनय आले मगर, काठमाडौंका डेबिड घले, राज अर्याल, अजित बुढाथोकी र रोहित खड्का, गोरखाका रन्जित श्रेष्ठ, नवलपरासी पूर्वका प्रबिन झेडी, तनहुँका गैतम कमर, उदयपुरका खेमराज बहादुर मगर र साङ्गे तामाङ रहेका छन् ।
पक्राउ परेकाहरु १९ वर्ष देखि २५ वर्ष सम्मका छन । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
