सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गर्ने ११ भारतीय पक्राउ  

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

11 Indians arrested for betting and dealing in dematerialized currency

काठमाडौँ — काठमाडौंबाट प्रहरीले सट्टेबाजी र अभौतिक मुद्राको कारोबार गरेको आरोपमा ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-३ देउला टोलमा घर भाडामा लिई उनीहरूले अनलाइन जुवा (सट्टेबाजी) र अभौतिक मुद्राको कारोबार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार पक्राउ पर्नेमा राजस्थानका सनी मिणा, मोहित वर्मा, पिउस भारद्वाज, हरकेश डडैया, निशांत भारद्वाज, आकाश वर्मा, अंकित कुमार सैनी, सन्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र  विकाश कुमार रहेका छन् ।

प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले २ अर्बभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खल्ने र खेलाउने कार्य गरेका थिए भने ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्राको कारोबार गरेका बोहोराले जानकारी दिए ।

पक्राउ परेकाहरू १९ वर्ष देखि २६ वर्षसम्मका छन् । प्रहरीले उनीहरूको साथबाट ३४ वटा मोबाइल, ५ वटा ल्यापटप, ४ वटा नोट बुक, १४ वटा भारतीय बैंक खाताको चेक बुक, २७ वटा एटिम कार्ड र ४० वटा भारतीय सिमकार्डसमेत बरामद गरेको छ । काठमाडौं जिल्ला अदालतबाट दिन सात दिनको म्याद लिएर उनीहरुको अनुसन्धान भइरहेको बोहोराले बताएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully