काठमाडौँ — बिल नभएको सुनका गहना बेच्ने प्रयास गरिरहेका दिपेशलाल चित्रकारलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कलंकी बस्दै आएका नुवाकोट विदुर नगरपालिका ५ का ४१ वर्षीय चित्रकारलाई स्वयम्भू प्रहरीले बिलबिनाको सुनका गहनाहरू बेच्न खोज्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीबाट उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । उनीबाट प्रहरीले ११ वटा नौगेडी माला, ७ वटा सिङगल गेडी माला, क्रिस्टल माला १३ वटा, मंगलसूत्र ६ वटा, टप ३ जोर, क्लिप ९ वटा, मोतीका माला ३ वटा, औंठी २४ वटा, फुली १९ वटा, गेडी तीन वटा बरामद गरेको छ ।
यस्तै, सोली गेडी माला, तिलहरी, लकेट माला, मोतीहार पनि १/१ वटा बरामद भएको बोहराले जानकारी दिए । बोहराका अनुसार पक्राउ परेका चित्रकार र बरामद सामग्रीको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
