वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन

चैत्र ९, २०८१

रासस

Senior journalist Mathwar Singh Basnet passed away

भक्तपुर — वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो । नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।

पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक बस्नेत राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत हुन्। गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए।

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए। मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो ।

उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। 

रासस

Link copied successfully