काठमाडौँ — काठमाडौं महानगरले चैत १२ देखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको हो ।
महानगरको स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा आउँदो वैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्ने जानकारी दिएको छ । महानगरले गत वर्ष गरिएको परीक्षणका क्रममा छुटेका प्रजनन उमेरका महिला र परीक्षण गर्दा पोजेटिभ देखिएका महिलालाई कार्यक्रमको लक्षित वर्गमा राखेको हो । 
गत वर्ष महानगरले वडामा निःशुल्क सञ्चालन गरेको परीक्षणमा क्यान्सरसँगै धेरै महिलामा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या देखिएको थियो । जहाँ ८ हजार १४५ जना महिलाले स्वास्थ्य जाँच गराएका थिए । त्यसमध्ये ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपीभी डीएनए परीक्षण गरिएको थियो । परीक्षण गरिएका ४५३ जनामा क्यान्सर पोजिटिभ देखिएको थियो ।
क्यान्सर पोजिटिभ देखिएका ३२८ जनाले महानगरको सम्पर्कमा आई कल्पोस्कोपी परीक्षण गराएका थिए । बायोप्सी गरिएकामध्ये १२१ जनाको रिपोर्ट सामान्य, १६१ जनामा सीआईएन वान, २४ जनामा सीआईएन टु र १४ जनामा सीआईएन थ्री देखिएको थियो । साथै ३ जनामा भने क्यान्सर भइसकेको देखिएकाले थप उपचारका लागि पठाइएको महानगरले जानकारी दिएको छ ।
