आफ्नै बुवा र दाजुबाट यौन दुर्व्यहारमा परेकी बालिकाको जाहेरी पुग्ने अदालतको ठहर

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

The court ruled that the complaint of the girl who was sexually abused by her own father and brother would be accepted

काठमाडौँ — काठमाडौं महानगरपालिकाको बालमनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दाबी पुग्ने जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको छ । 

महानगरपालिकाको एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुवा र ठूलोबुवाका छोरा (दाजु)ले यौन दुर्व्यवहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यससम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरूप अदालतमा प्रतिवेदन पेस गरेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले चैत ३ गते ‘बाल यौन दुरुपयोग गरेको’ मुद्दाको किसिम र ‘बाल यौन दुर्व्यवहार’सम्बन्धी मुद्दामा दाबी पुग्ने फैसला गरेको हो ।  

महानगरपालिकाले जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाका सन्दर्भमा बालमनोविज्ञ र समाजसेवीले बालबालिकासँग परामर्श गरेर तयार पारेको प्रतिवेदनलाई जाहेरी मान्न आग्रह गर्दै आएको थियो । अदालतको फैसलाबाट प्रतिवेदनले जाहेरीसरह मान्यता पाएपछि बाल संरक्षणसम्बन्धी विषयले संस्थागत रूपमा अदालतमा प्रवेश पाउने भएको महानगरले जनाएको छ । 

गत पुस ४ गते बालिकाले आफ्नै बुवा र ठूलो बुवाका छोरा (दाजु) बाट भएको हिंसाबारे महानगरको उद्धारका लागि स्थापना गरिएको हट लाइन नम्बर ११८० मा सम्पर्क गरेर बताएकी थिइन् । महानगरले लगत्तै बालिकालाई उद्धार गरी अस्थायी संरक्षण केन्द्रमा राखेको थियो ।

यस घटनाबारे महानगरले ५ पुसमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । त्यही जाहेरीका आधारमा उक्त मुद्दा जिल्ला अदालत काठमाडौं पुगेको हो । तर बालिकाकी आमाले १९ फागुनमा छोरीलाई महानगरपालिका बालिका पढ्ने विद्यालय, विद्यालयका प्रधानाध्यापक, संरक्षण संस्था र संस्थाका प्रमुखले नियन्त्रणमा लिएर बन्धक बनाएको, छोरीको अवस्था आफूलाई थाहा नभएको भन्दै उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेकी थिइन् ।

२५ फागुनमा महानगरपालिकासहितका विपक्षीले बालिकाको जोखिमपूर्ण अवस्था, उद्धारको प्रक्रिया र बालिकालाई संरक्षणका विषयमा विवरण पेस गरेको थियो । सोही दिन न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको फैसला गरेको थियो । तर अदालतले बालिकाको आमाले भेट्न माग गरे सोको प्रबन्ध मिलाउन भने महानगर र संस्थालाई आदेश दिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully