काठमाडौं — सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ४ निवासी घनश्याम थापाको परिवार आठ महिनाअघि मात्रै काठमाडौं आएको थियो ।
एक छोरा र एक छोरीसहित चन्द्रागिरि नगरपालिकाको ५ नम्बर वडामा बस्दै आएका थापा परिवार मजदुरी गर्न काठमाडौं आएको हो ।
मजदुरी गर्ने घनश्याम थापा सधैंझैं शनिबार पनि काम सकेर बेलुकी ६ बजे घर फर्किए, तर उनकी छोरी पाँच वर्षीया पूर्णिमा थापा घरमा थिइनन्।
कोठाबाट करिब २०० मिटर टाढा रहेको सार्वजनिक पार्कमा खेल्न गएकी उनी शनिबार फर्केर आइनन् । उनी साथिहरुसँग कहिलेकाहिँ पार्कमा खेल्न जान्थिन् ।
सीसीटीभी फुटेजका आधारमा शनिबार पनि उनी साथीहरूसँग खेल्न गएको पत्ता लाग्यो । त्यसपछि परिवारजनले खोजी गर्दा पार्कभित्रको पोखरीमा उनको चप्पल तैरिरहेको देखियो ।
साँझ ६ बजेतिर पोखरीमा चप्पल देखिएपछि खोजतलास गर्दा उनी पोखरीमै भेटिइन् । पोखरीबाट निकालेर उनलाई एपीएफ अस्पताल, बलम्बु, काठमाडौं ल्याइयो । प्रहरीका अनुसार अस्पतालले उनलाई ९:१३ मा मृत घोषणा गर्यो ।
मृतकको पोस्टमार्टम रिपोर्ट लिन परिवार शिक्षण अस्पताल, महाराजगञ्ज पुगेको छ । परिवार अहिले शवलाई सल्यान लग्ने तयारीमा छ । बुबा घनश्याम थापा भन्छन्, ‘नानिलाई भर्खरै स्कुल भर्ना गराएका थियौं । शनिबार नभएको भए सायद यो दुर्घटना हुने थिएन । शनिबार छोरीसँग समय बिताउन पाएको भए पनि उनलाई गुमाउनु पर्ने थिएन।’
