काठमाडौँ — अवैध रूपमा अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगजका धिरज पटेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार विभिन्न उपकरणसहित पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नं. १६ बाट कल बाईपास गर्ने उपकरण सहित प्रहरीले पक्राउ गरेको हो । उनीउपर दूरसञ्चार ऐन २०५३ अन्तर्गत पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिर राज शाहीका अनुसार उनको साथबाट ३२ पोर्ट भएको दुई थान भीओआईपी गेटवे, १८ पोर्ट भएको एक थान भीओआईपी गेटवे, १४ वटा एनसेल सिमकार्ड, विभिन्न प्रकारका राउटर, ब्याट्री, इनभर्टर, जोड्ने तार, मोबाइल सेट तथा पेनड्राइभ पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण तथा अन्य निकायहरूसँग समन्वय गरी नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अवैध कल बाइपास रोक्न सक्रिय रूपमा अनुसन्धान तथा कारबाही गरिरहेको जनाएको छ।
