काठमाडौँ — काठमाडौं महानगरपालिकाले विभिन्न सात क्षेत्रमा सुख्खा फोहोर व्यवस्थापन गर्न मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने भएको छ ।
महानगरले बुधबार एक सूचना जारी गर्दै सुख्खा फोहोर व्यस्थापन गर्न रिकभरी सञ्चालन गर्ने तयारी भइरहेकाले अनुमति बिना उक्त फोहोर नउठाउन अनुरोध समेत गरेको छ ।
‘महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहोरमैला अन्तर्गत अजैविक (सुख्खा) फोहोर व्यवस्थापनको लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न लागेकोले’ उक्त सूचनामा भनिएको छ, ‘महानगरको अनुमति बिना व्यवसायिक रूपमा व्यवसायिक संस्था, चोक, सडकबाट फोहोर उठाउने/छान्ने कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ ।’
यदि उक्त काम गरेको पाइएमा महानगरले फोहोरमैला व्यवस्थापन एने २९६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ र ५२ एंव महानगरको चालु आर्थिक वर्षको आर्थिक ऐन बमोजिम कारबाही गरिने जनाएको छ ।
