लागूऔषधविरुद्धको महाअभियानमा ५३ जना पक्राउ

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

53 people were arrested in the campaign against drugs

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिनामा लागूऔषधसहित ५३ जना पक्राउ गरेको छ । लागूऔषधसहित माघ १५ गतेदेखि फागुन १५ गतेसम्म प्रहरीले  ६ महिलासहित ४७ पुरुषलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यही समयमा २२ केजी ५ सय ७४ ग्राम गाँजा, १ केजी ५ सय ग्राम चरेस, २ केजी ५ सय ९४ ग्राम पोल्यान्ड, १ सय १५ ग्राम ४८.२३ मिलिग्राम हेरोइन, ३ सय ६७ ग्राम एम्फेटामाइन आइस्, १ हजार ३ सय ८७ ट्याब्लेट र  २ सय १७ एम्पुल सिन्थेटिक लागूऔषध समेत बरामद गरेको छ ।

सुरक्षित उपत्यकाका लागि लागू औषधविरुद्धको महाअभियान अन्तर्गत प्रहरी परिसर काठमाडौँले अभियान नै सञ्चालन गरेको थियो । 

लागूऔषध ओसारपसार तथा कारोबार गर्ने समूहमाथि विशेष निगरानी राखेर अभियान सञ्चालन गरिएको बोहराले जानकारी दिए । ‘हामीले लागूऔषध वितरण गर्नेलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छौं ।’ बोहराले भने, ‘वितरण नभएपछि प्रयोगकर्तासम्म पुग्न पाउने छैन ।’

प्रहरीले यसका लागि औषधि विभाग, सुधार केन्द्रलगायतका विभिन्न संघ संस्थाहरुसँग समेत सहकार्य गरेको छ । यो अभियान निरन्तर रुपमा चलिरहने बोहराले कान्तिपुरलाई जानकारी दिए ।

बोहरका अनुसार अहिले वितरकसहित भरिया, प्रयोगकर्ता पनि नियन्त्रणमा आएका छन् । 'हामीले विशेष टिम नै बनाएर अनुसन्धानलाई केन्द्रित गरेका छौं,' उनले भने । 

कान्तिपुर

Link copied successfully