काठमाडौँ — प्रहरी वृत्त स्वयम्भूले लागूऔषधसहित एक युवालाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका १,५६० एम्पुल लागूऔषध सहित मंगलबारर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर काठमाडौंमा बस्दै आएका २६ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नागार्जुन नगरपालिका–३, सिंगल ट्रीस्थित उनको डेरामा प्रहरीले खानतलासी गर्दा लुकाएर राखेको डाइजेपाम ५४० एम्पुल, फेनरगन ५२० एम्पुल, टाल्जेसिक बुप्रेनोर्फिन ५०० एम्पुल भेटेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
प्रहरीले उनको कोठाबाट प्रहरीले एउटा मोबाइलसमेत बरामद गरेको छ । बोहराका अनुसार श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले १५ माघ देखि १५ फागुन सम्म एक महिनाको अवधिमा ६ जना महिलासहित ५३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
