क्रिप्टोकरेन्सी कारोबारी लुट्ने ३ प्रहरीसहित ६ जना पक्राउ

फाल्गुन २१, २०८१

विवेक पोख्रेल

6 arrested including 3 policemen for robbing cryptocurrency traders

काठमाडौँ — लुटपाटमा संलग्न रहेको भन्दै ३ जना प्रहरीसहित ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । लुटेराहरूसँग मिलेर अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग्रातीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार उनीहरूले मोरङका २४ वर्षीय कपिल बस्नेत, दोलखाका ३१ वर्षीय संजोक तामाङ र मोरङका २० वर्षीय मनिष कुमार रायसँग मिलेर क्रिप्टोकरेन्सी कारोबारी धादिङका २६ वर्षीय रोशन गुरुङलाई लुटेका थिए। 

'रोशन गुरुङले आफू लुटिएको भन्दै सोमबार प्रहरीलाई खबर गरे,' उपरीक्षक बोहराले भने, 'बानेश्वरमा प्रहरी नै संलग्न भएर सोमबार उनलाई लुटेका रहेछन् । अनुसन्धानको क्रममा गुरुङ क्रिप्टोकरेन्सीको कारोबारी समेत भएको खुलेको छ।' 

पक्राउ परेका प्रहरीहरु तीनै जना घुमुवा (सूचना संकलन गर्ने) प्रहरी हुन् । उनीहरुले गुरुङबाट १४ लाख रुपैयाँ, प्रहरीको परिचय पत्र र हतकडीसमेत देखाएर लुटेको बताइएको छ । प्रहरीले रोशन गुरुङलले क्रिप्टोकरेन्सीमा एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय रुपैयाँ कारोबार गरेकोसमेत बताएको छ ।

पक्राउ परेका रोशन गुरुङलाई अभौतिक मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकीलाई डाँका–चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उपरीक्षक बोहराले जानकारी दिए ।

प्रहरीले लुटपाटमा संलग्न ६ जनाबाट १२ लाख १० हजार, ६ थान मोबाइल र गाडी बरामद गरेको छ भने रोशन गुरुङको साथबाट दुई वटा मोबाइल, एउटा ल्याप्टप र दुई लाख १९ हजार रुपैयाँ बरामद गरेको थियो । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully