काठमाडौँ — थापाथलीमा मेलम्चीको खानेपानी वितरण हुने पाइप फुट्दा सडकमै खाल्डो परेको छ ।
मंगलबार बिहान पाइप फुट्दा प्रसूति अस्पताल जानेतिरको सहायक सडकमा खाल्डो पर्नुका साथै पैदलयात्रु हिँड्ने सडकपेटी समेत भत्किएको छ । पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ ।
बिहानदेखि नै महानगरपालिकाका कमर्चारी आएर डोजरको सहयोगमा सडकको सरसफाइ र पाइप मर्मतको काम गरिरहेका छन् । पाइप फुटेर अत्यधिक पानी बग्दा छेउछाउका केही घर र पसल जलमग्न भएका छन् ।
गत माघ ३० गते पनि बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको थियो । पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडिको सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।
