युवा लक्षित कार्यक्रम बढाउनुपर्नेमा जोड

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

Emphasis on increasing youth targeted programs

काठमाडौँ — राष्ट्रिय युवा परिषद्को दसौं स्थापना दिवस सोमबार विविध कार्यक्रमका साथ मनाइएको छ । २०७२ फागुन १९ गते परिषद् गठन भएको दिनलाई स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

परिषद्‌द्वारा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाको पक्षमा देखिनेगरी परिणाममुखी काम गर्न आफू क्रियाशील रहेको बताए । मन्त्री चौधरीले नेपाली युवालाई मुलुकभित्रै आशा र भरोसा जगाउनुपर्ने बताए । उनले भने, 'युवाको विकास र सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै युवा रोजगारी, उद्यमशीलता, क्षमता विकास र नेतृत्व विकासमा जोड दिइरहेका छौंं ।'

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीमित स्रोत र साधनका बाबजुद युवा सशक्तीकरण र उद्यमशीलता विकासमा परिषद् लागिरहेको बताए । बस्नेतले तिनै तहका सरकारले आवश्यक समन्वय गर्दै  युवा लक्षित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । दसौं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा परिषद् र खेलकुद परिषद्‌ले युवालाई केन्द्रबिन्दुमा राखेर सहकार्य गर्नुपर्नेमा जोड दिए ।

सुरुवाती चरणमा परिषद् अघि बढाउन गरिएका प्रयासको चर्चा गर्दै परिषद्‌का पूर्वकार्यकारी उपाध्यक्ष माधव ढुंगेलले भने, 'युवाका समस्या पहिचान भएका छन्, अब समाधानमा सबै जुट्नुपर्दछ।' ढुंगेलले युवाका नीति र संरचना बनेपनि अपेक्षाकृत परिणाम हासिल गर्न बाँकी रहेको बताए।

कान्तिपुर

Link copied successfully