प्रधानमन्त्रीज्यू, तपाईंका भ्रष्ट कार्यकर्तासँग झुक्दिनँ : मेयर शाह

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Prime Minister, I will not bow down to your corrupt workers: Mayor Shah

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् ।

‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूहरू संघीय सरकारले गर्ने विकासको साझेदार रहेको पनि बताएका छन् । उनले लेखेका छन्, 'हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला ।' 

मेयर शाहले आग्रह-पूर्वाग्रहबाट मुक्त भएर विकासका लागि साझेदारी गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।  उनले अगाडि लेखेका छन्, 'जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।' 

वर्तमान सरकारले आफूविरुद्ध भ्रम फैलाएको र भ्रम फैलाउनमा विद्यावारिधिको उपाधि दिन मिल्ने भए अहिलेको सरकारलाई नै दिए हुने कडा टिप्पणीसमेत मेयर शाहको छ । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिनको रिपोर्ट लुकाइयो भनेरसमेत भ्रम फैलाइएको मेयर शाहको दाबी छ । उनले लेखेका छन्, 'लुकाउनलाई त हुनु पर्यो नि, होइन ।  रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ ।' यसअघि काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने बताएको थियो । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने बताएको थियो । 

कान्तिपुर

Link copied successfully