काठमाडौँ — प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन् ।
नेपाल प्रहरीले शनिबारबाट सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान कार्यक्रममा महानिरीक्षक कुँवरले सामूहिक रूपमा लाग्नुपर्ने बताए । लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको उनले बताए ।
समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियान सुरु गरिएको उनले जानकारी दिए । 'लागुऔषध नियन्त्रणमा व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ,' उनले भने, 'समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रुपमा रहेको लागुऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गर्न लागिएको हो ।’
विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागूऔषध सेवनकर्ता रहेको महानिरीक्षक कुँवरले बताए । तीमध्ये गाँजा र सोबाट निर्मित लागुऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनको भनाइ थियो ।
लागुऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दा प्रत्येक आर्थिक वर्षमा करिव ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको तथ्यांक पनि महानिरीक्षक कुँवरले उल्लेख गरे ।
