काठमाडौँ — ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने भएको छ । सोमबार ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले न्हुँ पोखरी क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरुआत गरेर यस्तो बताएका हुन् ।
उनले पोखरी क्षेत्रमा बनेका भौतिक संरचना भत्काएर हरियाली पार्क निर्माण गर्ने बताए । नुखु पुखु क्षेत्रलाई सुन्दर बनाउने अभियानमा महानगरपालिका लागेको उनको भनाइ छ ।
उनले भने, ‘यो नुःखु पुखुः लाई ब्युटीफाइ गर्ने, ग्रिनरी इन्हान्स गर्छौँ । ग्रिन एन्ड ब्ल्युको फ्युजन प्रोजेक्ट हो । ग्रिन भनेपछि हरियाली र ब्ल्यू भनेपछि पानी हुन्छ । हरियालीमा पानीको सम्मिश्रण न स्टेट अफ आर्टको पार्क हुन्छ यो ।’
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले पोखरी क्षेत्रलाई पुरानै अवस्थामा फर्काइने बताए । उनले आगामी असारसम्ममा निर्माण सम्पन्न भइसक्ने पोखरी क्षेत्रमा वृद्धवृद्धाहरुका लागि विश्राम स्थलको समेत व्यवस्था गरिने बताए ।
उनले भने, ‘यो २०८२ साल असारमा बनाएर सकिन्छ । यो ठाउँमा एउटा गार्डेन, एउटा स्मार्ट ट्वाइलेट हुन्छ र मान्छे हिँड्ने आवतजावतको पुरानो अवस्थामा फर्किन्छ । पहिला केही पनि थिएन, पछि निर्माण भएका भौतिक संरचना महानगरपालिकाको निर्देशनअनुसार भत्काउन सुरु गरेको हो ।’
ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पोखरी क्षेत्रमा रहेको वडा भवन अन्यत्र सारेर पोखरीलाई पुरानै अवस्थामा निर्माण गर्न अभियानमा लागेको बताए ।
उनले भने, ‘यो हाम्रो ऐतिहासिक न्यु पोखरी जुन अहिले बन्द रूपमा छ । त्यो पोखरीलाई संरक्षण गरेर फ्रेन्च बार लगाएर यो पोखरी बनाउन सुरुआत गरेको हो । महानगरपालिकाको नगरपरिषद्ले निर्णय गरे अनुसार यहाँ वडा भवन पनि थियो वडा मालश्री भवनको पछाडि सरेर यो पोखरी बनाउने अभियानमा लागेको हो ।’
पोखरी निर्माण सम्पन्न भएपछि वृद्ध वृद्धा तथा युवायुवतीका लागि विश्रामस्थलको व्यवस्था हुने महानगरपालिकाले जानकारी दिएको छ । पोखरीमा माछा पालनलगायतको वृहत् योजनासमेत अघि सारिएको महानगरपालिकाको भनाइ छ ।
