काठमाडौं महानगरले मानवअधिकार आयोगलाई बुझायो सांसद शर्माविरुद्धको अनुसन्धान अभिलेख

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City submitted the investigation record against MP Sharma to the Human Rights Commission

काठमाडौँ — लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माले नाबालिका बन्धक बनाएको घटनामा काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगलाई १२० पृष्ठ लामो आफ्नो अनुसन्धान अभिलेख बुझाएको छ ।

महानगरपालिकाका बाल कल्याण अधिकारीसहितको टोलीले आइतबार आयोगका सचिव मुरारीप्रसाद खरेललाई  अभिलेख बुझाएको हो ।

अभिलेख बुझ्दै सचिव खरेलले मानवअधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताएका थिए । उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए ।

सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि सांसद शर्मामाथि आयोगले अनुसन्धान थालेको थियो ।सो क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो । 

महानगर प्रमुखको सचिवालयका सदस्य धीरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थको द्वन्द्व रहेको बताएका छन् ।  

काठमाडौं महानगरपालिकाले गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो । तर सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।  

मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ ।

कान्तिपुर

Link copied successfully