जातीय हिंसाविरुद्ध दलित मुक्ति मोर्चाको विरोध प्रदर्शन

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Dalit Mukti Morcha protests against caste violence

काठमाडौँ — दलित समुदायमाथिको जातीय हिंसा र विभेदका घटना नरोकिएको भन्दै नेपाल दलित मुक्ति मोर्चाले विरोध प्रर्दशन गरेको छ । मोर्चाले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । दलित समुदायमाथि पछिल्लो चरणमा श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, उत्पीडन, हत्या, बहिष्कारविरुद्ध प्रदर्शन गरिएको मोर्चाका उपाध्यक्ष पदम विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार दलित समुदायका आधारभूत मुद्दा र मागहरुलाई राज्यसत्ताबाट सम्बोधन गराउन दबावस्वरुप समेत विरोध प्रदर्शन गरिएको हो ।

विरोधका क्रममा आयोजित खबरदारी सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा मोर्चाका फ्र्याक्सन इन्चार्ज परशुराम रम्तेलले निर्वाचन ऐन संशोधनको प्रक्रिया अहिले भइरहेको व्यवस्थाभन्दा पश्चगामी रहेको चर्चा गर्दै दलितहरुको सम्मानजनक प्रतिनिधित्वका लागि दलितमैत्री निर्वाचन प्रणालीको माग गरे । उनले दलितहरुका राज्यसत्ताका सम्पूर्ण क्षेत्र र निकायमा विशेष अधिकारका आधारमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए । 

मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजित श्रीपालीले दलित समुदायमाथि भएका संरचनात्मक हिंसाका घटनामा मेलमिलाप गरिने, परिवारको घेराभन्दा बाहिर लैजान नदिने, झुट्टा मुद्दामा फसाउने, ऐनकानुनलाई बेवास्ता गर्ने कामहरु भइरहेको चर्चा गर्दै केपी ओलीको सरकार दलित विरोधी रहेको बताए । 

उनले अन्तरजातीय विवाह गरेका सत्येन्द्र नेहाको वैधानिक जोडीलाई छुटाउन प्रहरी प्रशासन र स्वयम् गृहमन्त्रीको संलग्नताप्रति खेद प्रकट गर्दै छानविन समिति बनाई दोषीलाई कारवाही गर्न र पीडित जोडीको सुरक्षाको माग गरे । 

प्रदर्शनमा मोर्चाका सल्लाहकार तथा संविधानसभा सदस्य विनोद पहाडी, महासचिव शंकर दुुलालसहित नेताहरू सहभागी थिए । 

कान्तिपुर

Link copied successfully