काठमाडौँ — नेपाल रिसर्च कोलाबोरेसन सेन्टर (एनआरसीसी) ले नेपालमा दिगो अनुसन्धान पारिस्थितिक प्रणाली निर्माण गर्न छलफल गरेको छ । एनआरसीसीले हालै काठमाडौंमा ‘नेपालमा दिगो अनुसन्धान पारिस्थितिकी तन्त्र निर्माण : डिजिटल उपकरण, सहकार्य र नीति’ कार्यक्रम आयोजना गरी उक्त विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो ।
छलफलमा मिनेन्द्र रिजाल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव रवीन्द्र प्रसाद, नोभाला बायोटेक तथा अनुसन्धान तथा विकास प्रबन्धककी अध्यक्ष सुनिता गौतम, रोबोटिक्स एसोसिएसन अफ नेपालका इन्जिनियर विकास गुरुङ र डिजनेपका प्रमुख कार्यकारी अधिकृत भास्कर भट रहेका थिए । छलफलमा वक्ताहरूले नेपालका अनुसन्धानका चुनौती र अवसरहरूबारे बहस गरेका थिए ।
रिजालले छलफलमा अनुसन्धानलाई स्थानीय तहमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । यसैगरी सचिव ढकालले नेपालमा आधुनिक प्रयोगशाला रहे पनि दक्ष अनुसन्धानकर्ताको अभाव रहेको बताए ।
सोही छलफलमा गौतमले नेपालमा सर्पदंश प्रतिरोधी औषधि उत्पादनमा अनुसन्धानको कमी रहेको र यसका लागि भारतमा निर्भर रहनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।
इन्जिनियर गुरुङले विद्यालय तहदेखि नै अनुसन्धानको संस्कृति विकास गर्नुपर्ने सुझाव दिए भने भटले एआई प्रविधिले उत्पादकत्व बढाए पनि यसले बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी नयाँ चुनौती ल्याउने बताए ।
