शंखरापुर बस दुर्घटना : १६ जना उपचाररत, एक गम्भीर

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Shankharapur bus accident: 16 people treated, one serious

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी सवार बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइतेलाई थप उपचारका लागि मेडिसिटी हस्पिटल लगिएको छ । 

दुर्घटनामा घाइतेमध्ये २७ जना उपचारपछि बिहीबार  घर फर्किएका छन् । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटना भएको हो । सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुशांक डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगन्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुशांकको शखरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेहरुको केएमसी, एनएमसी, शिक्षण अस्पताल, हेल्पिङ हेण्ड र पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले जनाए । 

बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए ।

कान्तिपुर

Link copied successfully