काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिनाअघि नै आयुसंस्कारपरित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेकी छन् ।
श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले बुधबार आयोजना गरेको ‘भगवान् बुद्धको आयु संस्कार परित्याग दिवस’का अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन् । ‘माघ पूर्णिमा (सिल्लापुन्हि) भगवान् गौतम बुद्धले आफूले निर्वाण प्राप्त गर्नुभएको दिन हो,’ उनले भनिन्, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमा पनि धूमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठीक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयु संस्कार परित्यागको दिनबारे धेरैलाई जानकारी नै छैन ।’
उनले त्यो दिनको महत्वलाई दर्शाउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि बताइन् । ‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरुले यो दिनलाई विशेष महत्वका रुपमा लिँदै आएका छन्,’ उनले भनिन्, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारीसमेत दिन सकिरहेका छैनौँ । त्यही कुराको महत्वलाई दर्शाउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ ।’
उनले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा पनि जोड दिइन् ।
कार्यक्रममा कौन्डण्य महास्थविरले ४५ वर्षसम्म उपदेश सञ्चार गरेको भन्दै युद्ध होइन शान्ति रोज्नुपर्छ भन्ने सन्देश गौतमबुद्धले दिएको स्मरण गराए ।
कार्यक्रमा राष्ट्रिय सभाका सदस्य अन्जान शाक्य, सांसद विराजभक्त श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, नेवा दे दबूःका अध्यक्ष पवित्र बज्राचार्यलगायतको पनि उपस्थिति रहेको थियो । गौतम बुद्धले २९ वर्षको उमेरमा गृहत्याग गरेका थिए भने ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाको रातमा सम्बोधि लाभ (वोधिज्ञान) गरेका थिए । आजभन्दा २५०० वर्षअघि वैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मिएका बुद्धले ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गरेका थिए ।
