काठमाडौँ — नेपाल भ्रमणमा रहेकी बेलायतका अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित 'कीर्तिपुर आँखा अस्पताल'को अवलोकन र सेवाग्राहीसँग भेटघाट गरेकी छिन् । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालले २०७४ देखि सेवा दिँदै आएको छ ।
अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अधिराजकुमारी सोफी ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपीबी)’ को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) छिन् । विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उनले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रुपमा कार्य गर्दै आएकी छिन् । ‘आइएपीबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत संघ/संस्थाको साझा छाता संगठन हो ।
नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिइन् । संघले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक संघको सञ्जालमार्फत हजारौं आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन् ।
नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफी अत्यन्तै प्रभावित समेत भएको संघका अध्यक्ष चेतराज पन्तले जनाए । उनले राजकुमारी सोफी नेपाल भ्रमणका क्रममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त अवसरमा संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफीलाई जानकारी गराए ।
संघले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
