काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘सहिद दिवस’ अवसरमा स्मृति सभा आयोजना गरेको छ । महानगरले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।
सोही क्रममा महानगरले बुधबार सहिद सप्ताहको अन्तिम दिन सहिदहरूको सम्झनामा स्मृति सभा आयोजना गरेको हो । महानगरले काठमाडौंको लैनचौरस्थित सहिदपार्कमा ज्ञात अज्ञात सहिदको सम्झनामा सो सभा आयोनजा गरिएको हो ।
सो अवसरमा महानगरकी उपप्रमुख सुनिता डंगोलले सहिदको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मतहुनु पर्ने बताइन् ।
‘हुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौं,’ उनले भनिन् ।
२०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यो वर्ष माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेका स्थान टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालो र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा रहेका अमर सहिदहरूको सालिकमा माल्यार्पण गरिएको थियो ।
