शीतल निवासमा ल्होछार, सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Lhochar in Sheetal Niwas, President Paudel's emphasis on cultural preservation of all castes

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । मंगलबार बिहान लामा गुरु, ताम्बा र बोम्बोको पुजापाठपछि राष्ट्रपति पौडेलले सोनाम ल्होछार-२८६१ को शुभकामना दिएका हुन्।

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

विभिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होछार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अंग भएको बताउँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पारे।

पूजापाठ कार्यक्रममा ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। 'इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ। यसले निरन्तरता पाउने आशा गरेको छु,' तामाङ घेदुङका अध्यक्षसमेत रहेका गोलेले भने।

Lhochar in Sheetal Niwas, President Paudel's emphasis on cultural preservation of all castes

राष्ट्रपति कार्यालयले पहिलोपटक सोनाम ल्होछारको अवसरमा शुभकामना तथा पूजापाठ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा सांसदसहित तामाङ संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

तामाङ समुदायले आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी देश तथा विदेशमा ल्होछार मनाउँदैछन्। ल्होछार मूल आयोजक समितिले भने भोलि बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ। चन्द्रपात्रोअनुसार माघ १७ गते ड्रुक अर्थात् ड्र्यागन वर्गको बिदाइ र डुल सर्प अर्थात वर्ग लाग्दैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइन्छ । जुन तामाङ समुदायको नयाँ वर्ष हो।

कान्तिपुर संवाददाता

Link copied successfully