सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

माघ १३, २०८१

रासस

Management of seven metric tons of non-biodegradable waste

काठमाडौँ — काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।

वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्रकोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी,  कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको उनले बताए । 

सफाइका लागि मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठले  बैंकको तर्फबाट माक्स र पन्जा वाग्मती सफाइ महाअभियानलाई प्रदान गरेका थिए । अर्को हप्ताको सरसफाइ कामानपा वडा नं ६ को संयोजकत्वमा गर्नेगरी तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा जारी छ । सफाइ महाअभियानलाई सघाउन विगत तीन हप्तादेखि काठमाडौँ महानगरपालिकाको वाग्मती नदीसँग सीमा जोडिएका वडाहरूले सफाइको नेतृत्व गर्दै आएका छन् ।

रासस

Link copied successfully