सहिद सप्ताह सुरु : शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

माघ १०, २०८१

कान्तिपुर संवाददाता

Martyr's week begins: Tribute to Shukraraj Shastri

काठमाडौँ — मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरूको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर सहिदलाई स्मरण गरी सहिद सप्ताह मनाउने गरिन्छ ।  

सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे । 

विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । 

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।  

कान्तिपुर संवाददाता

Link copied successfully