सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्याको आरोपमा दुई जना पक्राउ

माघ ४, २०८१

कान्तिपुर संवाददाता

Two people were arrested for character assassination of a woman through social media

काठमाडौँ — सामाजिक सञ्जाल र म्यासेन्जर एप प्रयोग गरेर महिलाहरूको चरित्रहत्या गर्ने कार्यमा संलग्न भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय श्रृष्ण कार्की र भोजपुरको षडानन्द नगरपालिका घर भई काठमाडौं, बौद्ध बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेको प्रहरीले जनाएको छ । 

साइबर ब्युरोको प्रेस विज्ञप्तीअनुसार उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पुस २८ र २९ गते पक्राउ गरिएको हो । आरोपितमध्ये कार्कीले आफूसँग प्रेम सम्बन्ध भएको बखत खिचिएका तस्बिरहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीहरूलाई पठाउने गरेका थिए । उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

यस्तै, कटुवालले पनि आफूसँग सम्बन्ध रहेकी युवतीलाई जानकारी नदिई र उनको सहमतीबेगर लिइएका अश्लिल तस्बिरहरू पिडितको बहिनीलाई पठाउने गरेको आरोप छ ।

पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले कटुवालले उनको जानकारीबिना सामाजिक सञ्जालमा आपत्तिजनक तस्बिरहरू सार्वजनिक गरेको पिडित महिलाले दायर गरेको निवेदनमा उल्लेख छ । उनलाई पनि प्रहरीले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully