महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारीको प्रदूषण जाँच गर्दै

माघ ४, २०८१

कान्तिपुर संवाददाता

The metropolis is checking the pollution of vehicles in collaboration with the traffic police

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगरभित्र गुड्ने सवारीसाधनको प्रदूषण जाँच गर्न सुरु गरेको छ । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा २०८१ पुसको अन्तिम सातादेखि सवारी साधनको प्रदूषण जाँच सुरु गरेको हो ।

यसबारे महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के तपाईँको सवारी साधनको अवस्था ठिक छ ? प्रदूषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भनने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच गरिराखेको छौँ ।’

यसका लागि महानगरले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला  सङ्कलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरेको महानगरले जानकारी गराएको छ । 

मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्ने मापदण्डमा छ ।

यसैगरी तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्नेछ । 

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारी साधनका लागि सवारीको धुवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हार्टरिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हार्टरिज स्मोक युनिट (एचएकयु) हुनुपर्ने प्रावधान मापदण्डमा छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखिए कारबाही गरिने महानगरले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully